एनआरएनए निर्वाचनः योजनाबद्ध काम गर्ने वाचा लिएर मेरो अध्यक्षमा उम्मेदवारी: शर्मा

एनआरएनए निर्वाचनः योजनाबद्ध काम गर्ने वाचा लिएर मेरो अध्यक्षमा उम्मेदवारी: शर्मा

कतार- गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को आगामी कार्यकाल (२०२३–०२५) को लागि कतार निवासी राजेन्द्रकुमार शर्माले अध्यक्ष पदमा उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका छन् ।

कतारको राजधानी दोहास्थित र्याडिसन ब्लु होटेलमा बुधवार उम्मेदवार घोषणा सभा कार्यक्रम गरी अध्यक्षका प्रत्याशी शर्माले आफ्ना २४ बुँदे बाचा पत्र सार्वजनिक गरेका हुन् । “गैर आवासीय नेपालीको अभियान: स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मूल नारा समेटेर शर्माले २४ महिने कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर वाचा पत्र सार्वजनिक गर्नुभयो । 

सङ्घका वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैर आवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको बताउनुभयो । यो योजना तथा कार्यक्रमले सिङ्गो गैर आवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएन’ बन्ने उनले दाबी गर्नुभयो । 

वाचा पत्र सार्वजनिक गर्दै शर्माले भन्नुभयो, “मैले आइसिसीको उपाध्यक्ष भई कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु । तपाई हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैर आवासीय नेपाली अभियानको नेतृत्व लिने सङ्कल्प गरेको हुँ ।”

शर्मा गैर आवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय हुनुहुन्छ । उहाँले गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसिसी सदस्य, मध्यपूर्व संयोजक र आइसिसी सचिव भएर काम गर्नुभएको छ ।