धार्मिक एकता र सद्भावबाटै राष्ट्रिय एकता बलियो : मुख्यमन्त्री चौधरी

धार्मिक एकता र सद्भावबाटै राष्ट्रिय एकता बलियो : मुख्यमन्त्री चौधरी

नेपालगञ्ज- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले धार्मिक एकता र सद्भावबाटै राष्टिङ्य एकता बलियो हुने बताउनु भएको छ ।

ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्ललाहो अलैहीवसल्लमको १४९८ औं शुभ जन्मोत्सवको अवसरमा नेपालगञ्जमा बिहीबार आयोजना गरिएको जुलुसमा सहभागी हुनुभएका मुख्यमन्त्री चौधरीले सबै धर्म र समुदायविचको एकतानै नेपालको विशेषता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आफ्नो धर्मको अनुशरण गर्दै अर्काको धार्मिक आस्थाको सम्मान गर्नुपर्छ । त्यसो हुन सकेमा देश विकास र राष्टिङ्य एकता झनै बलियो हुँदै जानेछ ।’’

सो अवसरमा मुस्लिम समुदायद्वारा मोहम्मद डे मा सार्वजनिक बिदा माग गरिएकोप्रति लुम्बिनी प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मुख्यमन्त्री चौधरीले आगामी वर्षदेखि प्रदेश सरकारको सार्वजनिक बिदाको क्यालेण्डरमा यो विदालाई समावेश गर्ने प्रतिवद्धता जनाउनुभयो ।

स्थानीय बिपी चोकमा आयोजना गरिएको सो कार्यक्रममा बोल्नुहुँदै पूर्वमन्त्री तथा जसपाका केन्द्रीय नेता मोहम्मद ईश्तियाक राईले सबै धर्म मान्ने समुदायबीचको सदभाव र एकतालाई अझै सुदृढ पार्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले देशको विकास र उन्नतीका लागि शान्ति र स्थायीत्व पहिलो शर्त भएकाले सो तर्फ हामी सबै नेपालीले गम्भीर भएर मनन् गर्नुपर्नेमा जोड दिनुभयो ।

बागेश्वरी मन्दिरका पुजारी तथा धार्मिक एकता तथा सदभाव समितिका अध्यक्ष योगी चन्द्रनाथले शान्ति, प्रेम, भाइचारा र सदभाव सबै धर्मको मूल मन्त्र भएकाले सबैले आ–आफ्नो धर्मलाई पूर्णरुपमा पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले ईस्लाम धर्मले शान्ति र सदभावको सन्देश दिँदै आएकाले अरुको सम्मान र आफ्नो धर्म पालना गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा लुम्बिनी प्रदेशसभाका सदस्य अम्बिका काफ्ले, संविधानसभाका सदस्यहरु अब्दुल हमिद सिद्दिकी, सर्वतआरा खानम, नेपालगञ्जका प्रमुख प्रशान्त विष्ट, कोहलपुरका प्रमुख पूर्ण प्रसाद आचार्य, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र जिल्ला प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौर लगायत विभिन्न राजनीतिक दलका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।  

यसैबीच यस वर्ष नेपालग्रञ्जमा धुमधामका साथ विभिन्न कार्यक्रम गरेर मोहम्मद डे मनाइएको छ । सो अवसरमा बिहीबार विहान ठूलो सङ्ख्यामा मुस्लिम लगायत अन्य धर्मावलम्बीहरुको समेत सहभागिता रहेको एक शुभजन्मोत्सव जुलुसले नगरपरिक्रमा गरेको छ ।