वीरगञ्ज महानगरको सरसफाइ अभियान प्रभावित

वीरगञ्ज महानगरको सरसफाइ अभियान प्रभावित

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले सरसफाइ कर्मचारी हटाएपछि महानगरको सरसफाइ प्रभावित भएको छ ।

महानगरपालिकाले सरसफाइका दुई सय ५० जनासहित करिब ६ सय जना कर्मचारीलाई गत २०८० भदौ २६ गतेदेखि एकै पटक सेवाबाट हटाएको थियो । 

सरसफाइ कर्मचारी हटाइएपछि महानगरले सुरु गरेको सरसफाइ विशेष अभियान प्रभावित भएको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिए।

सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले नियमित सरसफाइसँगै जथाभावी फोहर फाल्नेलाई जरिवाना गर्दै आइरहेको छ । तर नियमित सरसफाइमा संलग्न कर्मचारीलाई कामबाट हटाएपछि सरसफाइको काम प्रभावित भएको प्रमुख मियाँको भनाइ छ ।

‘हामीले मुख्य तथा सहायक गल्लीमा दैनिक तीन पटकसम्म नियमित सरसफाइ गर्नुको साथै जथाभावी फोहर फाल्नेलाई जरिवानासमेत गर्दै आएका छौँ’, उनले भने, ‘यसका कारण सडक सफा भएर शहर सुन्दर बन्न थालेको छ, तर एकैपटक ठूलो सङ्ख्यामा सरसफाइका कर्मचारी नै कामबाट हटाइएपछि अहिले पछिल्लो समय सरसफाइको काम गर्नै सकिरहेका छैनौँ ।’

महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याक्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ । तर सरसफाइका कर्मचारी हटाइएपछि अब कसरी अघि बढ्नेमा आफूहरू अन्यौलमा रहेको सरसफाइ प्रमुख मियाँको भनाइ छ ।

उनका अनुसार गत २०७९ पुस १७ गतेदेखि हालसम्म जथाभावी फोहर फ्याक्ने व्यक्ति र संस्था गरी पाँच सय ७५ जनाबाट महानगरले १९ लाख ७७ हजार जरिवानाबापत राजस्व सङ्कलन गरेको छ ।

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ ।

विगत केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरको रुपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमुना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि यतिबेला वीरगञ्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको हो । तर सरसफाइका कर्मचारी हटाएपछि फेरि पुरानै अवस्थामा त फर्किने होइन भन्ने आशङ्का लाग्न थालेको वीरगञ्ज–६ का राजेश साहको भनाइ छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले विधिवत् नियुक्ति नभएको जनाउँदै व्यापक जनगुनासो आएपछि करार, ज्यालादारीका कर्मचारीलाई सेवाबाट हटाउनुपरेको जानकारी दिए ।