शाखा अधिकृतमा नाम निकाल्नेमध्ये आधा जति सात जिल्लाका, कुन जिल्लाका कति?
लोक सेवा आयोगले लिएको शाखा अधिकृतको परीक्षामा नाम निकाल्नेमध्ये आधा जति सात जिल्लाका व्यक्ति छन्।
संघीय लोक सेवा आयोगले यस साता नेपाल सरकारलाई परीक्षाबाट उत्तीर्ण १०९ जना शाखा अधिकृतको नाम सिफारिश गर्यो। आयोगले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि खुला समूहबाट ११८ जनाको आवेदन माग गरेको थियो।
लिखित परीक्षाबाट १६२ उम्मेदवारले नाम निकाले पनि अन्तर्वार्ता, सामूहिक परीक्षण, सूचना प्रविधि सीप परीक्षणका आधारमा १०९ जनाको नाम सिफारिश गरिएको हो। नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा र राजस्व समूह, नेपाल लेखा परीक्षण सेवा र संघीय संसद् सेवामा उनीहरूको नियुक्ति हुनेछ।
रोचक के छ भने, खुलातर्फ शाखा अधिकृत पदका लागि सिफारिश भएकामध्ये आधा जति सात जिल्लाका छन्। गुल्मी, स्याङ्जा, दैलेख, पर्वत, झापा, मोरङ, अर्घाखाँची र रुकुम पश्चिमका मात्रै ५८ जना सिफारिश भएका छन्। गुल्मीका १३ र स्याङ्जाका १२ जना अधिकृत सिफारिशमा परेका छन्। सरकारी सेवामा लुम्बिनी प्रदेशको यसअघिदेखि नै वर्चस्व रहँदै आएको छ।
लोक सेवा आयोगले सार्वजनिक गरेको विवरण अनुसार खुलातर्फ नाम निकाल्ने शाखा अधिकृतमध्ये १०२ जना पुरुष छन्। खुलातर्फ अधिकृतमा नाम निकाल्ने महिलाको संख्या जम्मा सात मात्रै छ।
अर्को रोचक के छ भने, खुलातर्फ शाखा अधिकृतमा नाम निकाल्नेमध्ये १०१ जना ब्राह्मण-क्षेत्री समुदायका छन्। चार जना जनजाति, दुई जना दलित तथा एक-एक जना मधेशी र थारू समुदायका प्रतिस्पर्धीले शाखा अधिकृतमा नाम निकालेका छन्।
निजामती र अरू सरकारी सेवामा निश्चित जातजाति, क्षेत्र र लिङ्गका व्यक्तिको मात्रै दबदबा भएपछि पछिल्ला वर्षमा आरक्षणको व्यवस्था लागू गरिएको छ। यसले सरकारी सेवालाई समावेशी बनाउने विश्वास छ।
लोक सेवा आयोगले यस अन्तर्गत महिला समूहमा २९ जना, आदिवासी जनजाति समूहमा २६ जना, मधेशी समूह अन्तर्गत १८ जना, दलित समूह अन्तर्गत आठ जनाको नाम सिफारिश गरेको छ। त्यसैगरी, अपाङ्ग समूह अन्तर्गत पाँच जना (परराष्ट्र सेवा समेत), पिछडिएको क्षेत्र अन्तर्गत दुई जनाको नाम सिफारिश गरिएको छ।
प्रतिक्रिया