क्यान्सरका बिरामी बढ्नुको प्रमुख कारण धूम्रपान: स्वास्थ्य मन्त्री बस्नेत

क्यान्सरका बिरामी बढ्नुको प्रमुख कारण धूम्रपान: स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा क्यान्सरका बिरामीको सङ्ख्या बढ्नुको प्रमुख कारण धूम्रपानको सेवन भएको बताउनुभयो । भारतको नयाँ दिल्लीमा रहेको बैंकटेस हस्पिटलले शुक्रवार राजधानीमा आयोजना गरेको क्यान्सर उपचारमा नयाँ प्रविधि विषयक सिएमई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थको सेवनमा कमी ल्याउन सके क्यान्सर बिरामीको सङ्ख्या कम गर्न सकिने बताउनुभयो । 

धूम्रपानको सेवन कम गराउन सरकारले सुर्तीजन्य पदार्थ ऐनको कार्यान्वयनमा जोड दिएको, सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन रोक्ने प्रयास भएको र कर बढाएको मन्त्री बस्नेतले बताउनुभयो । क्यान्सरका बिरामीलाई उपचारमा सहुलियत प्रदान गर्न सरकारले क्यान्सरका बिरामीलाई प्रत्येक बिरामीलाई एक लाख रुपियाँ सहयोग गर्ने गरेको र यसले उपचारमा थोरै भएपनि राहत भएको मन्त्री बस्नेतले बताउनुभयो । क्यान्सर रोगको उपचारमा नेपालले भारतबाट धेरै कुरा सिक्न  बाकी रहेकोले यस प्रकारका सिकाईका कार्यक्रम लाभदायक हुनेमा मन्त्रीले जोड दिनुभयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै क्यान्सर रोग विज्ञ डा. विनोद अर्यालले नेपालमा हरेक वर्ष २० हजार ५ सय क्यान्सरका नयाँ बिरामी थपिने तथ्याङ्क प्रस्तुत गर्दै १३ हजारको क्यान्सरकै कारण बर्सेनि मृत्यु भइरहेको बताउनुभयो । कार्यक्रममा क्यान्सर रोग विज्ञहरूको सहभागिता रहेको थियो ।